मुस्ताङ परिचय
गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित हिमाल पारीको जिल्ला हो मुस्ताङ । बिश्व मानचित्रमा मुस्ताङ जिल्लाको अवस्थिति २८ डिग्री ३३ मिनेट ५१ सेकेण्ड देखि २९ डिग्री १९ मिनेट ५२ सेकेण्ड उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट ५४ सेकेण्ड देखि ८४ डिग्री १४ मिनेट ५८ सेकेण्ड पूर्वि देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा म्याग्दी जिल्ला पर्ने यस जिल्लाको कुल क्षेत्रफल ३५७३ वर्ग कि.मी. रहेको छ । जुन नेपालको कुल क्षेत्रफलको २.४२ प्रतिशत हो । राष्ट्रिय जनगणना २०७८ अनुसार १४,४५२ जनसंख्या रहेको यस जिल्लाको जनघनत्व ४ जना प्रति वर्ग कि.मि. रहेको छ र वार्षिक जनसंख्या वृद्धिदर ०.६९ प्रतिशत रहेको छ । जिल्लाको सदरमुकाम जोमसोम समुन्द्र सतहदेखि २,७१० मीटर उचाइमा रहेको छ । समुन्द्र सतहदेखि २०१० मीटर (घाँसा) देखि ८१६७ मीटर (धौलागिरी) उचाईमा रहेको मुस्ताङ जिल्लाको हावापानी सुख्खा ठण्डा रहेको छ । धवलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको वीचमा अवस्थित यो जिल्ला हिन्दू र वौद्ध तिर्थयात्रीहरुको पावन भूमि, पवित्र कृष्ण गण्डकी प्रवाहित हुने पकृतिको अनुपम दृष्य भएको, पर्यटकको लागि मनमोहक एवं सुन्दर रहेकेा छ । मुख्य गरी गुरुङ्ग र थकाली समुदायको वसोवास रहेकेा यस जिल्लाका अधिकांश मानिसहरु वौद्ध धर्मप्रति आस्थावान छन् । परापूर्व कालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेकेा यो क्षेत्रको सभ्यता यहाँ रहेको प्राचीन गुफाहरू र वस्तिहरूको पुरातात्विक उत्खननबाट समेत ३००० वर्षभन्दा अगाडिको रहेको पुष्टि हुन आएको छ । तिब्बतीयन संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेक, पर्यटकहरुको लागि, अनुसन्धानकर्ताहरुको लागि अतिनै महत्वपूर्ण तथा आर्कषणको केन्द्र रहेको छ । मुस्ताङ जिल्ला अन्तर्गत ५ गाउँपालिकाको ५/५ वटा वडाहरु सहित जम्मा २५ वडा र १ संघिय निर्वाचन क्षेत्र र २ प्रदेश निर्वाचन क्षेत्र रहेको छ ।
94
